दुई दिन विद्यालय बन्द : निर्णय र विधि दुवै गलत
मैले थाहा पाएसम्म दक्षिण र पूर्वी एशियाली देशहरूमा हाम्रोभन्दा लामो कार्यदिन (वर्किङ आवर) छ । उनीहरूले विद्यालयमा दिउँसो विद्यार्थीलाई खाजा खुवाउँछन् । बिहान ८:३० बजेतिर स्कुल बोलाएर बेलुकासम्म राख्छन् । हाम्रोमा यस्तो अभ्यास छैन । बल्लतल्ल प्राथमिक तहका विद्यार्थीलाई केवल १५ रुपैयाँ खाजा खर्च प्राप्त हुन्छ जबकि एक कप चियाको २५ रुपैयाँ पर्न थालिसक्यो ।
यसरी, यसअघिको कार्यघण्टा नै बढी थियो भन्ने मेरो बुझाई हो । सँगसँगै कोभिड महाव्याधिले पटकपटक गरी ९ महिना पठनपाठनमा अवरोध खडा भयो । वैकल्पिक सहजीकरणका प्रयास भए पनि त्यो आवश्यक जति प्रभावकारी हुन सकेन । यसले विद्यार्थीको शैक्षिक क्षति भएको छ । यसलाई न्यूनीकरण गर्न एसईई अगाडि सञ्चालन गरिने ट्युसन, कोचिङ र थप अध्यापनको व्यवस्थालाई हामीले व्यवहारमा लागु गर्नुपर्छ । यसरी गहनरूपमा थप अध्यापन गराएर विद्यार्थीको शैक्षिक क्षतिको न्यूनीकरण गर्नु हाम्रो पहिलो कार्यभार हो ।