नेपालमा भोलिदेखि पडकास्ट महोत्सव, विदेशीसहित १३ जना वक्ता सहभागी हुने
नेपालमा पहिलोपटक पडकास्ट महोत्सव आयोजना हुने भएको छ । बोजु बजै पडकास्टको आयोजनामा यही चैत २६ र २७ गते ‘अल इयर्स’ नाममा महोत्सव हुन लागेको हो ।
पडकास्टका विभिन्न आयाममाथि भर्चुअल रुपमा १० सत्र चल्ने जनाइएको छ । नेपाली र अन्तर्राष्ट्रिय पडकास्टर गरी १३ जना वक्ता रहनेछन्
‘अल इयर्स महोत्सवको उद्देश्य पडकास्टमा रुचि राख्ने सबैलाई एकअर्कासँग र अन्तर्राष्ट्रिय पडकास्टका ख्यातिप्राप्त सर्जकसँग जोड्ने हो,’ विज्ञप्तिमा उल्लेख छ ।
दुई दिने महोत्सवमा लोकप्रिय अमेरिकी पडकास्ट रेडियोल्याबकी मली वेब्स्टर, फिलिपिन्सको पुमा पडकास्टका कार्ल हाभियर, नेपाली पडकास्ट सविना कार्की लगायतका वक्ता सहभागी हुने भएका छन् ।
महोत्सवमा पडकास्टसम्बन्धी दुईवटा कार्यशाला पनि हुनेछन् । सबै सत्र निःशुल्क हुने बोजु बजै पडकास्टकी भृकुटी राईले अनलाइनखबरलाई जानकारी दिइन् ।