जसले वडाबाट अपांगता परिचय पत्रको सिफारिस पाइनन्, उनैले दिइन् मेयरमा उम्मेदवारी
जिल्लाको व्यास नगरपालिका वडा नं ९ की पवित्रा कार्कीलाई १० वर्षअघि बाथ रोगले च्याप्यो । उनी उपचारको लागि काठमाडाैँ गईन् । उनलाई चिकित्सकले केही औषधी दिएर घरमै आराम गर्न सुझाव दिए । त्यसपछि उनी घरमै आराम गरेर बस्न थालिन् । केही वर्षपछि उनको दुर्घटना भयो र घाइते भईन् । त्यसपछि उनले बाथ रोगको औषधी सेवन गर्न छोडिन् ।
औषधी सेवन गर्न छोडेको तीन वर्षपछि उनको खुट्टाको जोर्नीले काम गर्न छोड्यो । र फलस्वरूप उनी शारीरिक रुपमा अपाङ्ग भइन् । हाल उनी उभिनै सक्दिनन् । उनले खुट्टाको उपचारको लागि भारत जाने सोच राखिन् र अपाङ्गगता परिचय पत्रको लागि वडा कार्यालयमा निवेदन दिइन् । तर पटक पटक वडा कार्यालय र नगरपालिका धाउँदा पनि उनले अपाङ्गगता परिचय पत्र पाइनन् । त्यसपछि उनले आफ्नो गुनासो पोख्ने ठाँउ कतै भेटिनन् ।
वडा कार्यालयबाट सिफारिस र अपाङ्गगता परिचय पत्र नपाउँदा उपचार नभएको भन्दै उनी घरमै बसिन् । स्थानीय तह निर्वाचनका लागि उनले आइतबार व्यास नगरपालिकाको मेयरका लागि मनोनयन दर्ता गरेकी छिन् । स्वतन्त्रबाट मनोनयन दर्ता गराउँदै उनले नगरपालिकाप्रति विरोध व्यक्त गरेकी हुन् । उनलाई राजनीतिमा आउनु र आफु नेता बन्नु भन्ने कुनै पनि ईच्छा थिएन् । तर स्थानीय तहले उनीप्रति गरेको भेदभावको कारणले साङकेतिक विरोध गर्दै उम्मेद्धवारी दिएकी हुन् ।