थप दुई देशसँग नेपालको कुटनीतिक सम्बन्ध कायम
नेपालले थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम गरेको छ । बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लो समय थप दुई देश दक्षिण सुडान र बेलिजसँग कूटनीतिक सम्बन्ध जोडेको बताएकी हुन् ।
उनका अनुसार सरकारले २९ मार्च २०२२ मा दक्षिण सुडान र २ अप्रिल २०२२ मा बेलिजसँग दौत्य सम्बन्ध कायम भएको हो । योसँगै नेपालले हालसम्म विश्वका १७६ वटा देशसँग कूटनीतिक सम्बन्ध जोडेको छ । प्रवक्ता लम्सालले रुस र युक्रेनबीच भएको युद्धको विषयमा अन्तर्राष्ट्रिय मञ्चहरुमा आएको प्रस्तावहरुमाथि सरकारले महत्वका आधारमा भोट गरेको बताइन् ।
उनले नेपालले राष्ट्र संघको निकाय भएको मतदानमा अहिलेसम्म भएका ४ भोट युक्रेनको पक्षमा हालेको पनि बताइन् । प्रवक्ता लम्सालले भनिन्, ‘पछिल्लो समय रुस र युक्रेनबीच जोडिएका विषयहरु पनि धेरै आएका छन् । हामी मानव अधिकार परिषद्को सदस्य भएको हिसावले अहिले यूएनमा इमर्जेन्सी स्पेशल शेषन चलिरहेको छ । १७ औँ शेषन चलिरहेको छ । त्यसमा विभिन्न विषयमा छलफल पनि भइरहेको छ ।’