एमबिबिएस प्रवेश परीक्षाबाट पाँच नक्कली विद्यार्थी पक्राउ
चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबिबिएस प्रवेश परीक्षामा उपस्थित भएका पाँच जना परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले चार नक्कली परीक्षार्थी र एक जना सक्कली परीक्षार्थीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।
चैत १८, २० र २१ गते हुने एकीकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थीहरू हुन सक्ने भन्दै प्रहरीलाई जानकारी गराइएको थियो। सो सूचनापछि महाशाखाले ‘अपरेसन इको’ सञ्चालन गरेको थियो।
उनीहरूले परीक्षामा नाम निकालेबापत २ देखि १८ लाखसम्मको मूल्य तोकेका थिए। यस्तै, एड्भान्स रकम ५० देखि २ लाख रुपैयाँ तोकेका थिए।
‘सुरूमा एड्भान्स पैसा लियो। पछि रिजल्ट अनुसारको मूल्य रहेछ। छात्रवृत्तिमै नाम निस्कियो भने धेरै पैसा लिने गर्ने रहेछन्,’ उनले भने, ‘पासमात्रै भयो भने त्यसअनुसारकै पैसा दिने भयो।’