मैदा, चिनी र घिउ महंगिदा बिस्कुट उद्योग समस्यामा
पछिल्लो समय नेपालका बिस्कुट उद्योगहरु समस्यामा परेका छन् । तरलता अभाव, कच्चा पदार्थको मूल्य वृद्धि, कच्चा पदार्थ आयातमा नगद मार्जिनको व्यवस्था, चोरीका बिस्कुटहरुको बिगबिगी र लगानी योग्य रकम अभावले उद्योगहरु थलिएको नेपाल बिस्कुट उद्योग संघले जनाएको छ ।
आर्थिक वर्षको सुरुवाती ९ महिनासम्म राम्रै चलेको उत्पादन मुलुक उद्योगहरु पछिल्लो एक महिनादेखि एक पछि अर्को संकटमा पर्दै गएको संघका महासचिव बिक्रम कर्माचार्यले बताए । अहिलेकै अवस्था गहिरिए बिस्कुट उद्योगहरु चल्नै नसक्ने उनको भनाइ छ ।
‘पछिल्लो १० वर्षमा झण्डै ३५ वटा बिस्कुट उद्योग खुले पनि मुस्किलले १५ वटा उद्योगहरु मात्रै सञ्चालनमा छन्,’ कर्माचार्यले अनलाइनखबरसँग भने, ‘अर्थतन्त्रको पछिल्लो चूनौतीका कारण उद्योगहरु माथि ठूलो समस्या थपिएको छ ।’
संघका अनुसार देशभर तीन अर्ब लगानीका १५ स्वदेशी बिस्कुट उद्योगहरु सञ्चालनमा छन् । ती उद्योगहरुमा करिब १३ हजार मानिसले प्रत्यक्ष-अप्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।