मृतक प्रहरीलाई गोली लागेको पुष्टि, हतियार चलाउनेको खोजी गर्दै प्रहरी
गत चैत ६ गते मोरङको लेटाङमा मारिएकी प्रहरी जवान उर्मिला श्रेष्ठको शरीरमा गोली लागेको पुष्टि भएको छ ।पटक पटक यौन दुव्र्यवहारको घटनामा जोडिएका शिक्षक पौडेललाई जोगाउन खोजिएको भन्दै आक्रोशित विद्यार्थी र अभिभावकले सुरु गरेको प्रदर्शन हिंसात्मक हुँदा प्रहरी जवान श्रेष्ठमाथि आक्रमण भएको थियो र उनको मृत्यु भएको थियो । घटनामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा २० जना भन्दा धेरै घाइते भएका थिए ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा ६३ जनालाई पक्राउ गरेको थियो । १६ जना बालक पनि प्रतिवादी रहेको घटनामा एउटा मुद्दा मंगलबार नै दर्ता भएको थियो । बुधबार थप दुई मुद्दा दर्ता गर्ने जिल्ला सरकारी वकिल कार्यालयको तयारी छ ।
पक्राउ परेकामध्ये १५ जना बालकलाई अभद्र व्यवहार, १४ जनालाई कर्तव्य ज्यान, थप ३२ जनालाई अभद्र व्यवहारको मुद्दा चलाउने तयारी रहेको सरकारी वकिलको कार्यालय स्रोतले बताएको छ ।गोली प्रहार गर्ने व्यक्ति र हतियारको विषयमा अनुसन्धान भइरहेको मोरङका प्रहरी उपरीक्षक कोइरालाले बताए । अनुसन्धान अवधि (२५ दिन) भित्रै मुद्दा अदालतमा बुझाएपनि थप विषय अनुसन्धान भइरहेको उनले बताए ।