बैंककमा टेकअफका क्रममा पांग्रा पन्चर भएको जहाज मर्मतपछि काठमाडौं ल्याइयो
एक साता (१ अप्रिल) अगाडी थाइल्याण्डको बैंककमा धावनमार्गमा गुडिसकेको अवस्थामा अकस्मात ब्रेक लगाउँदा पांग्रा पन्चर भएपछि ग्राउण्डेड भएको नेपाल एयरलाइन्सको जहाज आवश्यक मर्मतपछि काठमाडौं ल्याइएको छ ।
निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आरए-४०२ जहाज काठमाडौं आउने क्रममा पांग्रामा समस्या आएको थियो । त्यसपछि पाइलटले जहाज रोकेर यात्रु तथा कार्गोलाई सुरक्षित रुपमा निकालेका थिए । १४१ जना याुत्रलाई ४ अप्रिलमा अर्को जहाज पठाएर काठमाडौं ल्याइएको थियो ।
थाई एयरवेजका प्राविधिक टिमले उक्त विमानको चार वटै पांग्रा फेर्नुपर्ने सुझाव दिएका थिए । आवश्यक पाग्रां कतार एयरवेजको विमानमार्फत २ अप्रिल २०२२ को उडानबाट बैंकक पठाइएको थियो । मर्मत सम्पन्न भएको ९एनएकेडब्लू जहाज बुधबार काठमाडौं अवतरण गरेको हो । यस घटनालाई अध्ययन, अनुसन्धान गरि प्रतिवेदन पेश गर्न निगमले एक समिति समेत गठन गरेको छ ।