कोटेश्वरको डेरामा गोली र नक्कली सुन फेला परेको घटनामा फरार दुई पक्राउ
काठमाडौंको कोटेश्वरको डेरा कोठामा चार राउन्ड गोली र नक्कली सुन फेला परेको घटनामा फरार रहेका दुई पक्राउ परेका छन्।
प्रहरीले यस घटनामा फरार रहेका दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
काठमाडौं महानगरपालिका-३२ कोटेश्वर नरेफाँटस्थित एक घरमा डेरा गरी बसेका प्रमिला तामाङ र विशाल गुरूङलाई प्रहरीले पक्राउ गरेको हो। लामो समयदेखि उनीहरू नफर्किएपछि काठमाडौं महानगरपालिकाको प्रतिनिधि र प्रहरी सहितको टोली डेरा कोठा खोल्न गएका थिए।
तर त्यहाँबाट चार राउन्ड गोली र एक किलो सुन जस्तो धातु बरामद भएको थियो। तर सुन चाँदी व्यवसायीले सो सुन नभएको पुष्टि गरेको थियो।
गोली र नक्कली सुन बरामद भएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो।