मतदान केन्द्र अपाङ्गतामैत्री बनाउन माग
रोल्पा नगरपालिका ८ का चित्रबहादुर डाँगी २ वटा निर्वाचनमा सहभागी भए । २०७४ सालको निर्वाचनमा वालिग भएका उनी सोही वर्षको स्थानीय तह र प्रदेश एवं संघीय निर्वाचनमा सहभागी भए । जीवनमै पहिलो निर्वाचनमा उत्साहका साथ ३ घण्टा पैदल हिंडेर मतदान स्थल पुगेको उनले आफैं भने मतदान गर्न सकेनन् । मतदान नगर्नुको कारण थियो दृष्टीविहीन । दुवै आँखाको ज्योती गुमाएका उनीले एक पटक गाउँले दाजु र अर्को पटक आफ्नै बुबालाई मतदान गर्न लगाए । आफूले रोजेको पार्टीलाई मतदान भयो कि भएन चित्रलाई अहिलेसम्म थाहा छैन ।
रोल्पा माडी गाउँपालिका ३ तालावाङका शिशिर डाँगी आसन्न स्थानीय तह निर्वाचनमा मतदान गर्न आतुर छन् । उनी पहिलो पटक मतदान प्रकृयामा सहभागी हुँदैछन् । दुवै आँखाको ज्योती गुमाएका उनी अर्काको साहारामा हिंड्डुल गर्छन् । सदरमुकाम लिवाङ बस्दै आएका उनी निर्वाचनमा सहभागिता जनाउन घर गइसकेका छन् । जीवन मै पहिलो पटक गर्न लागको मतदान आफैंले गर्न नपाउदा भने उनी खुसी छैनन् ।