आर्थिक समस्याबारे सरकार जानकार छ : मन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशले भोग्दै आएको प्रविधिको रुपान्तरण र आर्थिक समस्याबारे सरकार जानकार रहेका बताएका छन् । मन्त्री कार्कीले प्रविधिको विकास, रुपान्तरण र मल्टिमिडियाको आवश्यकताअनुसार अझै परिमार्जित ढंगले अघि बढन रेडियो नेपाललाई आग्रह समेत गरे ।
रेडियो नेपालको ७२ औं वार्षिकोत्सवको अवसर पारेर आइतबार सिंहदरबारमा आयोजित एक समारोहमा बोल्दै उनले देशको सबै भूभागमा रेडियो नेपालको पहुँच पुर्याउन जरुरी रहेको पनि बताए ।
सुदूर गाउँको समस्या र सम्भावनालाई उजागर गर्नेगरी रेडियो नेपालले अझ निष्पक्ष, तथ्यपूर्ण, विश्वसनीय र भरपर्दो समाचार र सूचना प्रवाह गर्नुपर्ने पनि मन्त्री कार्कीको भनाई थियो । उनले रेडियो नेपाललाई बदलिँदो परिवेश र त्यसले निम्त्याएको प्रतिस्पर्धामा खरो ढंगले उत्रन पनि आग्रह गरे । मन्त्री कार्कीले राष्ट्रिय प्रशारण संस्था हुनुको नाताले रेडियो नेपालले राष्ट्रिय दायित्वलाई समेत हेरेर काम गर्नुपर्ने स्पष्ट पारे ।