धनकुटामा दिनेश र चिन्तनको दोस्रो भिडन्त
धनकुटा नगरपालिकाको मेयरमा २०७४ सालको चुनावका दुई मुख्य प्रतिद्वन्द्वी यसपालिको चुनावमा पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।
नेपाली कांग्रेसका दिनेश राई र नेकपा एमालेका चिन्तन तामाङले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा मेयरमा उम्मेदवारी दिएका छन् । यसअघि २०७४ सालको प्रतिस्पर्धामा तामाङ निर्वाचित भएका थिए । उनले राईलाई ११४ मतले पराजित गरेका थिए । चिन्तनको ४ हजार ९३३ मत पाउँदा दिनेशले ४ हजार ८१९ मत पाएका थिए ।
उनीहरुसँगै जनता समाजवादी पार्टीका गोपाल लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सुमिना तामाङ र स्वतन्त्रबाट सुन्दरबाबु श्रेष्ठ पनि चुनावी मैदानमा छन् ।
तर ५ वर्षअघि ११४ मतको अन्तरले जित-हार व्यहोरेका दिनेश र चिन्तनबीच नै यो पटक पनि प्रतिस्पर्धा हुने आकलन छ ।