काठमाडौंका दुई न्यायाधीश न्याय परिषदको विस्तृत छानबिनमा
न्यायपरिषदले जिल्ला अदालत काठमाडौंका दुई न्यायाधीशको कार्यसम्पादन र आचरण जोडिएका विषयमा विस्तृत छानबिन थालेको छ ।
विभिन्न मुद्दाको फैसलाका क्रममा गरेको त्रुटि र राखेको बदनियतसम्बन्धी उजुरीबाट सुरु भएको छानबिन अरु विषयमा पनि प्रवेश गरेको परिषद उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।
‘सवारी ज्यान मुद्दामा न्यायाधीश सूर्यप्रसाद अधिकारीले जे जस्तो फैसला गर्नुभयो, त्यसले न्यायको याचना गर्ने पीडितमाथि ठूलो अन्याय भएको देखियो’ न्याय परिषद स्रोतले भन्यो, ‘त्यो फैसलालाई हामी गम्भीरतापूर्वक हेर्दैछौं ।’
न्यायपालिकाको शुद्धीकरणका लागि कानून व्यवसायीहरुको संगठन नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत केन्द्रित आन्दोलन नै गर्यो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोगको एउटा आरोप न्यायमा विचलन ल्याएको भन्नेसमेत थियो ।