९ दलले मात्रै दिए १०० भन्दा बढी पालिका प्रमुखमा उम्मेदवारी
स्थानीय तह निर्वाचनमा १०० भन्दा बढी पालिकामा प्रमुख पदमा उम्मेदवारी दिने दलको संख्या ९ मात्र रहेको छ । अरु दलले १०० भन्दा कम स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी दिएका छन् ।
निर्वाचन आयोगको विवरण अनुसार नेकपा एमालेले ७३६ स्थानीय तहको प्रमुखमा उम्मेदवारी दिएको छ भने नेपाली कांग्रेसले ६४६ स्थानीय तहको प्रमुखमा उम्मेदवारी दिएको छ ।
निर्वाचन आयोगका अनुसार १०० भन्दा बढी पालिकामा प्रमुख पदमा उम्मेदवारी दिने दलमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मंगोल नेशनल अर्गनाइजेसन र जनमत पार्टी रहेका छन् ।
निर्वाचन आयोगमा दर्ता भएका ७९ मध्ये ६४ दलले स्थानीय तहको प्रमुखमा उम्मेदवारी दिएका छन् । १० वटा दलले एउटा मात्र पालिकाको प्रमुखमा उम्मेदवारी दिएका छन् भने २ पालिकाको प्रमुखमा उम्मेदवारी दिने दलको संख्या ७ रहेको छ ।