आपूर्ति मन्त्रालय : देउवाले छाडेको भद्रगोलको भारीमा बडू
गत बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफ्नो दुई वटा विभागका महत्वपूर्ण जिम्मेवारी हेरफेर गर्यो । मन्त्रालय मातहतमा धेरै चलखेल हुने अड्डाको रुपमा परिचित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र कम्पनी रजिष्ट्रार कार्यालयका प्रमुख २३ चैतको निर्णय अनुसार फेरिए ।
वाणिज्य विभागबाट ६ महिना पनि नपुग्दै प्रेमकुमार श्रेष्ठलाई हटाएर लिला प्रसाद शर्मालाई ल्याईयो भने कम्पनी रजिष्ट्रारबाट प्रदीप अधिकारीको ठाउँमा महेश बराल आए । उनीहरुको सरुवा भएको ठिक भोलिपल्ट २४ चैतमा ९ महिनाको रिक्तता तोड्दै मन्त्रालयले मन्त्री पायो दिलेन्द्रप्रसाद बडू ।
मुलुकको अर्थतन्त्रको प्रमुख हिस्सा मानिने उद्योग, लगानी, आपूर्ति व्यवस्थापन, बजार अनुगमन, व्यापारको सहजीकरण र नियमन गर्ने निकायमा गत साताको बुधबार र बिहीबार भएका नियुक्ति र फेरबदल ९ महिना अवधिमा भएका दर्जनौं मनमौजी निर्णय मध्येका केही हुन् ।
२९ असार २०७८ मा देउवाले पद तथा गोपनियताको शपथ लिएपछि यो मन्त्रालय २ दिन (असोज २२ मा दुई दिनका लागि गजेन्द्र हमाल उद्योग मन्त्री भएका थिए) बाहेक प्रधानमन्त्री देउवाकै नेतृत्वमा रहृयो ।
मुलुक चरम व्यापार घाटामा गुजि्ररहँदा, बजारमा उपभोग्य वस्तुको मूल्यमा बृद्धि अनियन्त्रित हुँदा, इन्धनको मूल्यबृद्धि र आयात चुलिंदा यो मन्त्रालयमा भने प्रधानमन्त्री र उनको परिवारको इच्छाअनुसारको नियुक्ति, सरुवा, बढुवा, अवैध व्यापारको आयात खोल्ने काममै रमायो ।
निर्वाचन आचारसंहिता लागूहुनुपुर्व मात्रै बडूलाई मन्त्रालयको जिम्मेवारी दिएको देखिन्छ । जबकी बडूले मन्त्रालयको जिम्मेवारी पाएको अघिल्लो दिनसम्म बालुवाटारको स्वार्थमा मन्त्रालयमा कर्मचारीहरु हेरफेर भइरहेका थिए ।