व्यापार घाटा बढेको बढ्यै, घटाउने कार्ययोजना अलपत्र
अर्थतन्त्रमा अहिले सबैभन्दा बढी चिन्ताको विषय हो, बढ्दो व्यापार घाटा र घट्दो विदेशी मुद्राको सञ्चिति । नेपालबाट विदेशमा बिक्री गर्ने सामान भन्दा विदेशबाट नेपाल ल्याउने सामान धेरै भएपछि व्यापार घाटा हुन्छ ।
व्यापार घाटा उच्च दरमा बढ्दै गएपछि विदेशी मुद्राको सञ्चिति जोगाउन सकस छ । त्यसैले नेपाल राष्ट्र बैंकले बैंकहरुलाई बिलासी वस्तुको आयातका लागि प्रतितपत्र (एलसी) नखोल्न निर्देशन दिएको छ ।
सरकारले तीन वर्षअघि नै व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना २०७५ तयार गरेको थियो । तर, हाल उक्त कार्ययोजना अलपत्र छ । नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस)-२०७३ तयार हुँदा ९ खर्ब ११ अर्ब २६ करोड रुपैयाँमा रहेको व्यापार घाटा गत आर्थिक वर्ष २०७७/७८ मा १३ खर्ब ९८ अर्ब रुपैयाँमा पुगेको थियो ।
फलतः चालु आर्थिक वर्ष पहिलो ८ महिनामा व्यापार घाटा ११ अर्ब ६० करोड ९८ लाख रुपैयाँ पुगेको छ, यो घाटा गत वर्षको यसै अवधिको तुलनामा ३४ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०७७/७८को फागुनसम्म व्यापार घाटा ८ अर्ब ६३ अर्ब २० करोड मात्रै थियो ।