नेकपा एमालेसँग चुनावी तालमेल गर्ने परिवार दलको तयारी
नेपाल परिवार दलले आगामी तीनै तहको निर्वाचनमा नेकपा एमालेसँग तालमेल गर्ने तयारी गरेको छ । २०७४ सालको निर्वाचनमा पनि ३ बुँदे सहमति गरेर परिवार दलले एमालेसँग चुनावी सहकार्य गरेको थियो । तर एमालेसँग चुनावी तालमेल हुने अवस्थामा भने धेरै ठाउँ दाबी नगर्ने नीति पार्टीले लिएको अध्यक्ष ढकालले बताए । परिवारले सातदेखि दशवटा पालिकामा आफ्नो दाबी गर्ने तयारी गरेको छ । ढकालका अनुसार कुन कुन पालिकामा दाबी गर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन । एमाले स्थानीय तहमा लोकप्रिय रहेको भन्दै अध्यक्ष ढकालले उक्त पार्टीसँगको तालमेलले दुवै दललाई फाइदा हुने बताए । कुन क्षेत्रमा कसरी तालमेल गर्ने भन्ने विषयमा परिवार दलले वरिष्ठ उपाध्यक्ष विनोद डाँगीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । सो समितिलाई मुलुकभर पार्टीको अवस्था र प्रभाव क्षेत्र पहिचान गर्ने जिम्मेवारी दिइएको छ । उक्त समितिले रिपोर्ट दिएपछि परिवार दलले दाबी गर्ने पालिकाको टुङ्गो लाग्ने अध्यक्ष ढकालले जानकारी दिए ।
पार्टी अध्यक्ष एकनाथ ढकालसहितको टोलीले एमाले उपाध्यक्ष विष्णु पौडेलसँग सम्भावित चुनावी तालमेलका विषयमा केही दिनअधि छलफल गरेको छ । स्थानीय तह निर्वाचनमा एमालेसँग चुनावी तालमेल गर्ने विषयमा सकारात्मक छलफल भएको परिवार दलका अध्यक्ष एकनाथ ढकालले बताए ।