भरतपुर महानगरको मेयरका लागि कांग्रेसका आकांक्षीहरूको मनोनयन दर्ता हुँदै
भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्ने माग गर्दै जिल्ला तथा केन्द्रीय नेता पार्टी शीर्ष नेतालाई भेट्न काठमाडौंमा रहेका बेला कांग्रेसबाट मेयरमा आकांक्षीहरुले मनोनयन दर्ता गर्ने भएका छन् ।
नेपाली कांग्रेस भरतपुर महानगर कमिटीले जिल्ला पार्टी कार्यालय कमलनगर नारायणगढमा मेयर तथा उपमेयरका आकांक्षीहरुलाई आइतबार र सोमवार मनोनयन दर्ता गर्न दुई दिनको समय तोकेको छ ।
कांग्रेसको केन्द्रीय निर्देशन र जिल्लाको परिपत्र अनुसार आज र भोलि मनोनयन दर्ता गर्ने समय तोकिएको कांग्रेस महानगर सचिव कृष्ण बगालेले जानकारी दिए । आइतवार बिहान ११ बजेबाट सुरु हुने मनोनयनको सबै तयारी पूरा भएको सचिव बगालेले बताए ।
उनका अनुसार महानगरपालिकाको मेयरको लागि दर्ता शुल्क तीन हजार र उपमेयरको लागि दुई हजार रुपैयाँँ तोकिएको छ । मेयरमा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरूङ, सूर्यकान्त घिमिरे, उत्तम जोशी, शंकर कँडेल लगायतले आकांक्षा देखाएका छन् ।