भरतपुर महानगर : विभाजित मतदातालाई गठबन्धनको भारी
भरतपुर महानगरपालिकाको यो तस्वीर सोमबार साँझ खिचिएको हो । बिग्रेको मौसमका कारण जसरी यो तस्वीरमा भरतपुर महानगरपालिकाको यो क्षेत्र स्पष्टसँग देखिंदैन, सत्ता गठबन्धनभित्र नसुध्रिएको राजनीतिक दाउपेचका कारण स्थानीय तहको चुनावी सरगर्मी कस्तो होला भन्ने पनि यस्तै अस्पष्ट छ ।
सत्ता गठबन्धनको राष्ट्रिय राजनीतिलाई समेत पेचिलो बनाइरहेको भरतपुर महानगरको समीकरणले स्थानीय नेता–कार्यकर्ता मात्रै होइन, मतदाताकै मनोविज्ञान विभाजित छ ।
भरतपुर–२८ मेघौलीका देवीप्रसाद सापकोटा भरतपुर महानगरमा हुने चुनावमा केन्द्रले दिने निर्देशन नै निर्णायक हुने बताउँछन् । ‘मिलेर जाने विषयमा पार्टीले के भन्छ, हेर्नुपर्ने हुन्छ । केन्द्रबाटै गठबन्धन गर्ने निर्णय भएर माओवादीलाई दिए हाम्रो त बाध्यता हो, मिल्नैपर्ने हुन्छ’ सापकोटाले भने, ‘पार्टी प्रणालीमा पार्टीले जे निर्देशन दिन्छ, त्यो त मान्नैपर्ने हुन्छ ।’ तर भरतपुरका कांग्रेस नेता–कार्यकर्ता र समर्थक सबैको मन सापकोटाको जस्तो छैन ।
वडा नम्बर १९ पार्वतीपुरका कमानसिंह गुरुङ गठबन्धनको पक्षमा छैनन् । कांग्रेस समर्थक गुरुङ आफ्नो पार्टीले गठबन्धन नै नगरोस् भन्ने चाहन्छन् । ‘नेताहरूसँग धेरै मान्छे खुसी छैनन् । कति त भोट नहाल्ने भन्दैछन् । तालमेल हुँदा सबैले भोट हाल्दैनन्’ उनले भने, ‘जनताले स्वतन्त्र रूपमा आफ्नो मान्छे चुन्न पाउनुपर्छ, बरु गठबन्धन नै नहोस् ।’