१५ वर्षसम्मका बालबालिकालाई लगाइने
प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिदेखि देशैभर सुरु हुने टाइफाइड खोप अभियानको शुभारम्भ गर्नुभएको छ । रानीपोखरीस्थित दरबार हाइस्कुलमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोपको शुभारम्भ गर्नुभएको हो ।
सो अवसरमा प्रधानमन्त्री देउवाले कोभिड सङ्क्रमण नियन्त्रणमा सफलता पाएजस्तै टाइफाइडमा पनि सफलता पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस अभियानबाट देशका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका लाभान्वित हुने उल्लेख गर्नुभयो । उहाँले राजधानीलगायत सहरी क्षेत्रमा फोहरको समस्याको दिगो समाधानका लागि फोहरको प्रशोधन प्लान्ट स्थापना गरी त्यसबाट ग्यास तथा विद्युतीय ऊर्जा उत्पादन गर्न सकिने हुँदा यसतर्फ लाग्न स्थानीय निकायहरूलाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘धरानलगायत कतिपय सहरमा फोहर प्रशोधन प्लान्ट निर्माण गरी ऊर्जा उत्पादन गरिएको र त्यस ऊर्जाबाट सवारीसाधनसमेत सञ्चालन गरिएका छन् । आफ्नै लगानीमा गर्न सकिने यस्ता प्रविधितर्फ लाग्न खोजेमा सरकारले पनि आवश्यक सहयोग गर्नेछ ।” प्राकृतिकरूपमा सुन्दर राजधानी काठमाडौँमा फोहरको समस्याले सौन्दर्यतामा ह्रास आउनुका साथै अनेक रोगको सङ्क्रमण फैलने जोखिम रहने हुँदा फोहर व्यवस्थापनमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड रोग नियन्त्रणमा नेपालले विश्वमै उदाहरणीय सफलता हासिल गर्न सकेको उल्लेख गर्दै दक्षिण एशियामा नेपालले पहिलोपटक टाइफाइड रोगविरुद्धको खोप अभियान सुरु गर्न लागेको जानकारी दिनुभयो ।
प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा रामपार्थ बिछाले वर्तमान सरकारले चैत मसान्तसम्ममा आम जनतालाई कोरोनाविरुद्धको खोप दिने कार्यलाई पहिलो प्राथमिकतामा राखेअनुसार सफलता हासिल भएको उल्लेख गर्दै १० वर्षको अनुसन्धानबाट प्रयोगमा ल्याइएको टाइफाइडविरुद्धको खोप निकै प्रभावकारी रहेको बताउनुभयो । मन्त्रालयका सचिव डा राजेश पोखरेलले टाइफाइड खोप निःशुल्क, सुरक्षित र प्रभावकारी रहेको बताउँदै देशभरका १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दिइने यस खोप अभियानको व्यवस्थित र प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि सबै पक्षसँग आग्रह गर्नुभयो ।
राष्ट्रिय खोप कार्यक्रमलाई सरकारको पहिलो प्राथमिकता एवं जनस्वास्थ्यको सफल कार्यक्रमको रूपमा लिइएको छ । हाल यो कार्यक्रममार्फत १२ वटा एन्टिजेनसमेत समावेश गरी नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट बालबालिकाको बिरामी दर, अपाङ्गता र शिशु तथा बाल मृत्युदरसमेतमा उल्लेख्य कमी आउन सक्ने विश्वास गरिएको छ ।