यौन दुराचारको आरोपबारे सोधिएको प्रश्नमा केशव स्थापितको हेपाहा जवाफ
काठमाडौं महानगरपालिकाका एमाले मेयर उम्मेदवार केशव स्थापितले आफूमाथि लागेको यौन दुर्व्यवहारको आरोपलाई हलुका ढंगले लिँदै हेपाहा जवाफ दिएका छन्।
उक्त आरोपबारे सोधिएको प्रश्नमा उनले आफूजस्तो व्यक्तिबारे समय समयमा चर्चा भइरहने बताए।
मेयरको उम्मेदवारमा उनले मनोनयन दर्ता गरेपछि सेतोपाटीले उनलाई तपाईंमाथि त यौन दुर्व्यवहारको आरोप लागेको थियो नि भनेर सोधेको थियो।
चार वर्षअघि काठमाडौं महानगरकै पूर्वकर्मचारी रश्मिला प्रजापति र पत्रकार उज्जला महर्जनले आफूहरूमाथि स्थापितले यौन दुर्व्यवहार गरेर हैरान पारेको आरोप लगाएका थिए।आफूमाथि कुनै बेला भएको दुर्व्यवहारबारे विश्वभरका महिलाले आवाज उठाइरहेको त्यो समयमा रश्मिला र उज्जलाले पनि स्थापितबाट भएका यौन दुराचारको घटना बाहिर ल्याएका थिए। विश्वभरिका महिलाहरूले सुरू गरेको उक्त अभियान ‘मी टू’ भनेर चिनिएको थियो।