काठमाडौंका जनप्रतिनिधिले नदेखेको इन्द्रचोक क्षेत्रको दुर्दशा
स्थानीय तहका जनप्रतिनिधिको आफ्नो पाँचवर्षे कार्यकाल सकिंदैछ । चुनाव जित्ने बेलामा नागरिकलाई विकास निर्माणको ठूला-ठूला सपना देखाएका उनीहरुले कतिपय ठाउँमा भने चासो समेत दिएका छैनन् ।
काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले ऐतिहासिक बजार इन्द्रचोक र आसपासको क्षेत्रका स्थानीयले भोगिरहेको दुर्दशालाई बेवास्ता गरेरै कार्यकाल बिताएका छन् ।
विश्व सम्पदा क्षेत्रमा मापदण्ड विपरीत झण्डा राख्न ७० लाख खर्च गर्न सक्ने महानगरपालिकाले यो ऐतिहासिक क्षेत्रको मर्मत र सम्पदा संरक्षणमा भने चासो दिन सकेको छैन । काठमाडौं महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ यो बाटोमा तत्कालीन मेयर केशव स्थापितले ढुंगा छापेपछि अहिलेसम्म मर्मत गर्न नसकिएको बताउँछन् ।
इन्द्रचोक काठमाडौं महानगरपालिकाको वडा नम्बर १८, २२, २४ र २६ को बीचमा पर्छ । त्यसैले सबै वडाबाट तिरस्कृत भएर दुर्दशा भोगिरहेको वडाध्यक्ष श्रेष्ठको गुनासो छ । एकातिर असन, भेंडासिंह, यट्खा, वसन्तपुर, जुद्ध शालिक र महाबौद्ध जाने गरी पाँचवटा बाटोको केन्द्र हो, इन्द्रचोक । इन्द्रचोकलाई केन्द्रमा राखेर जाने पाँच बाटोमध्ये जुद्ध शालिक जाने बाटोबाहेक सबै बाटाहरु ढुंगा बिछ्याइएका छन् ।