भरतपुरमा देवीले मैदान छाडे, दिनेश पुन: आकांक्षी
अघिल्लो स्थानीय तहको निर्वाचनमा सबैभन्दा चर्चामा आएका र राजनीतिक ‘पीडित’ पात्रमा रुपमा पर्दछन् देवी ज्ञवाली र दिनेश कोइराला । स्थानीय तहको निर्वाचनमा ‘अन्याय’ भोगेका ज्ञवाली केपी सरकारका पालामा भूमि आयोगका अध्यक्ष थिए । त्यो आयोग पनि विघटन गरेर आफूमाथि अर्को अन्याय गरिएको उनले बताउँदै आएका छन् ।
२०७४ को चुनावका लागि वैशाख १९ गते एमालेबाट मेयरमा देवी ज्ञवाली र कांग्रेसबाट दिनेश कोइरालाले मेयरमा उम्मेद्वारी दर्ता गराए । तर दिनेशको उम्मेद्वार पार्टी सभापतिसमेत रहेको शेरबहादुर देउवाले केन्द्रबाट नै आयोगलाई पत्र लेखेर थुतिदिए । त्यसबेला वेटिङ प्रधानमन्त्री रहेका देउवाका लागि दिनेशको उम्मेद्वार तान्नु कुनै ठूलो कुरा थिएन ।
उनको उम्मेद्वारी फिर्ता भएपछि कांग्रेसको समर्थनमा गठवन्धनबाट उठेकी रेनु दाहाल र एमालेका देवी ज्ञवालीका बीचमा कडा प्रतिस्पर्धा भयो । भरतपुर महानगरको मतगणना करीव अन्तिम चरणमा पुगेको बेला २०७४ जेठ १४ गते मध्यराती मतपत्र च्यातियो ।
मतपत्र च्यातिएको भरतपुर १९ मा अदालतको आदेश बमोजिम पुनः मतदान हुँदा ज्ञवाली २०३ मतले हारे । गएको स्थानीय तहको निर्वाचनमा ‘अन्याय’मा परेका ज्ञवाली र कोइरालालाई पार्टीको महाधिवेशनमा भने कार्यकर्ताले न्याय गरे ।