चार करोड भ्रष्टाचार गरेको भन्दै गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायरगरेको छ ।
आयोगले बिहीबार एक विज्ञप्ती जारी गर्दै गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्का, तत्कालीन प्रशासकीय अधिकृतहरु राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईंसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ । उनीहरुसँग ४ करोड २१ लाख ७०६ रुपैयाँ बिगो मागदाबी गरेको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।
लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का, तल्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईँ, लेखापाल दुर्गाबहादुर डिम्दोङ तामाङ, विद्युतीकरण उपभोक्ता समिति, लिखु तामाकोशी, गापा ५ (साविक नागदह गाविस १/५) का अध्यक्ष वेतबहादुर पुँवार, कोषाध्यक्ष ममीता श्रेष्ठ, सचिव सुब्बा थापामगर, विद्युतीकरण उपभोक्ता समिति, लिखु तामाकोशी, गापा ५ (साविक नागदह गाविस ६/९) का अध्यक्ष सुनबहादुर तामाङ, कोषाध्यक्ष करिष्मा परियार, सचिव दलबहादुर तामाङ र विद्युतीकरण उपभोक्ता समिति, लिखु गापा ४, (साविक विजुलीकोट)का अध्यक्ष होमबहादुर महत, कोषाध्यक्ष अनिता श्रेष्ठ र सचिव डिल्लीबहादुर सुनुवारको मिलेमतोमा आफूहरुलाई गैरकानुनी लाभ पुर्याउने र सरकारी रकममा हानिनोक्सानी पुर्याउने बदनियतले कार्य अनुभव र कार्यक्षमता नभएका उपभोक्ता समितिहरुसँग विद्युतीकरणजस्तो जटिल प्रकृतिको काम गर्न योजना सम्झौता गराएको विज्ञप्तीमा भनिएको छ।अख्तियारले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा विद्युतीकरण गर्दा योजना सम्झौताका सर्त, कार्यपालिकाको निर्ण र विद्यमान कानुनविपरीत प्राविधिक मूल्याङ्कन गरेको, नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र अनुगमन प्रतिवेदन बिना सामान खरिद/ढुवानी गरी रकम भुक्तानी लिने/दिने गरेको उजुरी आएपछि अनुसन्धान थालेको थियो।