प्रिमियरमा ‘मन्त्र’लाई मिश्रित प्रतिक्रिया, बाबुरामले पनि हेरे फिल्म
शुक्रबार रिलिज हुने तयारीमा रहेको फिल्म ‘मन्त्र’को प्रिमियर गरिएको छ । गृहजिल्ला गोरखामा छायांकन गरिएको फिल्म हेर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बुधबार बेलुका बिग मुभिज पुगेका थिए ।
दीपकराज गिरी, दीपाश्री निरौला, निश्चल बस्नेत, विपिन कार्की लगायतका फिल्मकर्मी प्रिमियरमा उपस्थित रहे । अभिनेता सौगात मल्ल उपस्थित रहेपनि सगरमाथा आरोहणमा निस्किएकी अभिनेत्री दीया पुन चाहिं देखिइनन् ।
फिल्म हेरेकाले ‘मन्त्र’लाई मिश्रित प्रतिक्रिया दिएका छन् । अभिनेता दीपकराज गिरीले छायांकन स्थलले दर्शकलाई लोभ्याउने बताए । ‘फिल्ममा हामी हिमाललाई क्लोजसँग हेर्न पाउँछौं,’ उनले भने, ‘ब्याकग्राउण्ड स्कोर बुलन्द रह्यो ।’
हिमालका दृश्य र पार्श्व ध्वनि बोनसको रुपमा रहेको दीपकले बताए । निर्देशक दीपाश्री निरौलाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा दीपकतर्फ हेर्दै भनिन्, ‘अब यस्तै स्क्रिप्ट चाहियो मलाई । यस्तै पहाडको स्क्रिप्ट चाहियो, यस्तै मनास्लुको स्क्रिप्ट चाहियो ।’