काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गर्न अझै केही दिन लाग्ने
दश दिनपछि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको काम सुरु भए पनि यसअघि थुप्रिएको सबै फोहरलाई अन्तिम विसर्जनस्थलसम्म पुर्याउन अझै केही दिन लाग्ने जनाइएको छ ।
तारकेश्वर नगरपालिकाको मुड्खु–तीनपिप्ले सडकखण्डका बासिन्दाले सडक कालोपत्रे गर्न ढिलाइ भएको भन्दै काठमाडौं उपत्यकाबाट फोहर व्यवस्थापन लागि सिसडोल जान रोकेका थिए ।
सोमबारदेखि फोहरको गाडी सिसडोल जान थालेको भए पनि लामो समयदेखिको रोकिएको फोहर व्यवस्थापन हुन भने समय लाग्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
स्थानीय र ठेकेदार कम्पनीबीच सडक मर्मतको काम तत्काल गर्ने सहमति भएपछि सोमबारदेखि फोहर लान थालिएको हो ।
पछिल्लो समय १० दिन फोहर नउठेको भए पनि गत फागुनमा पनि स्थानीयको अवरोधका कारण १९ दिन फोहर सडकमै रह्यो । गत फागुन १ देखि पनि तीन पिप्लेका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै १२ दिन अवरोध गरेका थिए ।हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिक टन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् ।