आचारसंहिता पालनामा दलहरुले आफैंलाई शंका गरे : प्रमुख आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राजनीतिक दलले निर्वाचन आचारसंहिता पालनामा आफैंलाई शंका गरेको टिप्पणी गरेका छन् ।
आचारसंहिता मस्यौदा गर्दा दलहरुको पनि सुझाव लिएको भन्दै उनले अहिले कार्यान्वयन गर्ने बेलामा दलहरुले आफैंमाथि शंका गरेको बताएका हुन् ।
‘यो आचारसंहिता अत्यन्तै राम्रो छ । म र म संवद्ध भएको दल वा म संवद्ध भएको संस्था यो आचारसंहिता पालना गर्न र गराउन कटिवद्ध छ, यदि त्यसो हो भने शंका को प्रति ?’ थपलियाले प्रश्न गरे, ‘अलिकति अप्ठेरो प्रश्न मैले देखेँ, आफैंले आफैंलाई शंका गरेर आफैंलृ आफैंलाई अविश्वास गर्न मिल्छ कि मिल्दैन ?’
थपलियाले आफूले पालना गर्नुपर्ने नियम पालनामा आफैं बाधक हो भन्न मिल्ने कि नमिल्ने भनी प्रश्न गरे ।
आफूहरुले निकै मिहिनेतका साथ आचारसंहिता बनाएको र दलहरुको पनि सुझाव दिएको उनले बताए । २०७४ सालको निर्वाचनको अनुभवको आधारमा आचारसंहिताको मस्यौदा गरेको, उक्त मस्यौदा राजनीतिक दलहरुलाई दिएर लिखित सुझाव मागेको र आयोगमा पनि अन्तर्क्रिया गरेको भन्दै प्रमुख आयुक्त थपलियाले ती सुझावसहितको मस्यौदा वेबसाइटमा राखेर त्यहाँबाट पनि सुझाव लिएको दावी गरे ।