तीन डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय
सरकारले नेपाल प्रहरीका तीनजना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।
आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलार्ई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । यसअघि मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा सिफारिस समितिले यही चैत १ उनीहरुलाई एआईजीमा बढुवा गर्न सरकारसामु सिफारिस गरेको थियो । तर उनीहरुको बढुवाविरुद्ध त्यसविरुद्ध लोक सेवा आयोगमा उजुरी परेकाले सरकारले निर्णय लिन ढिलाइ भएको थियो ।
तर आयोगको बढुवा उपर उजुरी सुन्ने समितिले बुधबार उक्त समितिको बढुवा सिफारिसलाई नै सदर गरेपछि सरकारलाई बढुवा गर्न बाटो खुलेको हो ।
बढुवा प्रक्रियामा वरिष्ठताको नियम मिचेको भन्दै असन्तुष्ट डीआइजीहरु घनश्याम अर्याल, ईश्वरबावु कार्की र प्रकाशजंग कार्कीले लोकसेवा आयोगमा उजुरी गरेका थिए तर आयोगले भने उजुरी बदर र सिफारिस सदर गरिदिएको छ ।