चौधरी उद्योग ग्राममा बुधबार बिहानदेखि आगलागी
बिहान साढे ८ बजे सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आएको छैन । सुरक्षाकर्मी र मजदुर दमकलसहित आगो निभाउन खटिएका छन् । आगो ठूलो भएकाले नियन्त्रणमा लिन समस्या भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख एसपी प्रकाश मल्लले बताए ।उनका अनुसार बियर र चाउचाउ राख्ने कागजको काटुनमा आगो लागेकाले चाँडै फैलिएको छ ।
चौधरी ग्रुपका सहायक प्रबन्धक सुवास देवकोटाले कार्टुन गोदामबाट आगो सुरु भएर मुख्य भवनमा सरेको जानकारी दिए । उनका अनुसार चारवटा दमकलले आगो नियन्त्रणका लागि गरेको प्रयास सफल भएको छैन । सेना र प्रहरी आगो नियन्त्रणमा खटिएका छन् । ‘विद्युत् सर्ट भएर आगलागी भएको अनुमान छ,’ उनले भने, ‘गोदामबाट आगो लागेको हो ।’
चौधरी उद्योग ग्राम देवचुलीका प्रशासन प्रमुख दामोदर पौडेलका अनुसार उद्योग परिसरमा रहेको बियर प्लान्टको गोदाम र बोटलिङ क्षेत्रमा आगलागी भएको हो । ब्रुअरीले नेपाल आइस बियरलगायतका बियर उत्पादन गर्दै आएको छ ।