कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीलाई बारबरा फाउन्डेसनले १ करोडको सम्मान गर्ने
बारबरा फाउन्डेसनले कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीलाई १ करोड १ रुपैयाँको सम्मान गर्ने भएको छ।
कोरोना महामारीविरूद्ध अग्रपंक्तिमा खटिने देशभरका सरकारी तथा सामुदायिक अस्पतालमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्य कर्मचारीलगायत एम्बुलेन्स चालकलाई विशेष सम्मान गर्न उक्त रकम छुट्याइएको फाउन्डेसनका अध्यक्ष डाक्टर सन्दुक रुइतले सोमबार जानकारी दिएका छन्।
फाउन्डेसनका कार्यकारिणी सदस्य तथा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुहृद घिमिरेले उक्त सम्मानका लागि एक करोड रुपैयाँ प्रदान गरेको रुइतले जारी गरेको वक्तव्यमा उल्लेख छ।
फाउन्डेसनले सम्मानका लागि स्वास्थ्यकर्मी छान्न नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइरालाको अध्यक्षतामा नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीसहितको निर्णायक समिति गठन गरेको छ।
'निर्णायक समितिबाट छानिने सम्मानित व्यक्तित्वमार्फत सम्पूर्ण अग्रपंक्तिमा डटेर खट्नु हुने स्वास्थ्यकर्मीप्रतिको सम्मान हुने हाम्रो विश्वास छ,’ वक्तव्यमा भनिएको छ।
फाउन्डेसनले गत वर्ष पनि अग्रपंक्तिमा खटिएका व्यक्तिलाई विशेष सम्मान गरेको थियो।