अक्सिजनलगायत सामग्री लिएर नारायणकाजी श्रेष्ठ गोरखा पुगे
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ अक्सिजनलगायत स्वास्थ्य सामग्री लिएर गृहजिल्ला गोरखा पुगेका छन्।
श्रेष्ठले लगेको अक्सिजन, अक्सिजन कन्सन्ट्रेटरलगायत सामग्री जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय गोरखाका साथै केही स्थानीय तहहरूमा पनि पठाइएको छ।
उनले गोरखा अस्पताललाई १० थान अक्सिजन र स्वास्थ्य कार्यालयलाई १० थान अक्सिजन हस्तान्तरणसमेत गरेका छन्। शहिदलखन गाउँपालिकाका लागि २ थान र भीमसेन थापा गाउँपालिकाका लागि पनि २ थान अक्सिजन हस्तान्तरण गरिएको उनको सचिवालयले जनाएको छ।
स्वास्थ्य कार्यालयमा हस्तान्तरण गरिएका अक्सिजन सिलिन्डर अजिरकोट, सिरानचोक, पालुङटार, गण्डकी र आरूघाट स्थानीय तहमा पठाइने बताइएको छ।
साथै श्रेष्ठले प्रमुख जिल्ला अधिकारीलगायतसँग कोरोना संक्रमितको संख्या र संक्रमणदर तथा रोकथामका लागि गरिएका उपायबारे जानकारी लिएका छन्।