अष्ट्रेलियाको बाढी प्रभावित क्षेत्रमा प्राकृतिक विपत घोषणा
अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा भारी बर्षा पछी आएको बाढीले जनजीवन निकै प्रभावित भएको छ । आइतबार बिहान संघीय तथा राज्य सरकारले न्यु साउथ वेल्सका केही इलाकामा ‘प्राकृतिक विपत’ घोषणा गरेका छन् ।
यो निर्णयसँगै त्यहाँका बासिन्दाको उद्धार र राहतका लागि केन्द्र र राज्य सरकारका सबै आपतकालीन निकायहरु केन्द्रित भएका छन् ।
बिहीबारयता यहाका नदीहरुमा वर्षाको पानी भरिँदा आसपासका बस्तीहरु प्रभावित भएका छन् । केही दिनदेखिको अविरल वर्षाले सिड्नी सहर र आसपासका बस्तीका सडकहरु जलमग्न छन् ।
संघीय र राज्य सरकारले उत्तरी न्यु साउथ वेल्सका कोफ्स हार्बरदेखि ग्राफ्तन र सेसनक तथा दंग्गाग क्षेत्रसम्म प्राकृतिक विपत विस्तार भएको जनाएका छन् ।
राज्य आपत्काल सेवाका अधिकारिहरुले प्रभावित इलाकाका बासिन्दाहरुलाई घरबाहिर ननिस्किन र आपतकालीन सेवाका सूचनाहरुमा चनाखो हुन सुझाव दिएका छन् । यहाँको जलवायु विभाग, प्रहरी र आपतकालीन सेवाका संयन्त्रहरु उच्च सतर्कताका साथ परिचालन भएका छन् ।
प्रमुख राजमार्ग तथा सडकहरु बन्द भएका वा हुनसक्ने भएकाले ती इलाकामा तय गरिएका सबै भ्रमण रद्द गर्न आफ्ना नागरिकहरुलाई सुझाव दिइएको छ । अविरल वर्षाका कारण सबैभन्दा बढी प्रभावित भएको पोर्ट मक्वारी क्षेत्रमा भौतिक संरचनाहरुमा ठूलो नोक्सानी भएको छ तर आपत्कालीन सेवाको उच्च सतर्कता र तत्काल उद्धार कार्यले कही पनि मानवीय क्षति भएको छैन ।
सिड्नीमा करिब ५० लाख मानिसलाई खानेपानी सेवा प्रदान गरिरहेको वारागम्बा बाँधमा शनिबार पानीको मात्रा बढी भएर बाँध बाहिर बग्न थालेपछि उक्त बाँध आसपासका बस्तीहरुलाई शनिबार रातिदेखि आइतबार बिहानसम्म सतर्क पारिएको छ ।