नेपालद्वारा काेराेनाविरुद्धकाे खोप खरिदका लागि भारतसँग २० लाख डोज प्रस्ताव
कोरोना भाइरसविरुद्धको खोप पहिलो चरणमा एक लाख ८४ हजार ८ सय ५७ जनाले लगाएका छन् । माघ १४ देखि सुरु भएको कोरोनाबिरुद्धको खोप १० दिनमा ४ लाख २० हजारलाई दिने लक्षय पूरा भएन ।
सोमबारदेखि शुरु हुने दोस्रो चरणको खोप अभियानमा भने दूतावास, राष्ट्रसंघीय निकायका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पहिलो चरणमा भारतको ‘कोभिशिल्ड’ खोप देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ ।
जसअनुसार प्रदेश नं १ मा २४ हजार २२४, प्रदेश नं २ मा २५ हजार ६३७, वाग्मती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा नौ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जना छन् । मन्त्रालयले यही माघ १४ गतेदेखि पहिलो चरणमा कुल जनसंख्याको तीन प्रतिशतलाई खोप लगाउनेमध्ये प्राथमिकतामा परेका व्यक्तिलाई खोप प्रदान गरेको थियो । पहिलो चरणका लागि ल्याइएका खोप प्राथमिकताका आधारमा अर्को चरणमा लगाउने मन्त्रालयको तयारी छ ।
भारतले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । चीनले पनि पाँच लाख मात्रा खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सरकारले कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप लगाउने जनाएको छ ।
कोभ्याक्स सुविधाअन्तर्गत नेपालले पाउने खोपमध्ये पहिलो चरणमा २२ लाख ५६ हजार मात्रा अक्सफोर्ड र अष्ट्राजेनेकाको खोप तीन साता भित्र आइपुग्ने मन्त्रालयले जनाएको छ । कोभ्याक्सले चार चरणमा नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप निःशुल्क उपलब्ध गराउने छ । भारतको सेरम इन्स्टिट्यूटले उत्पादन गरेको ‘कोभिशिल्ड’ खोप नेपालले खरिद प्रक्रिया पनि अघि बढाएको छ ।
नेपालले खोप खरिदको लागि भारतसँग २० लाख डोज प्रस्ताव गरेको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाकाले ‘कोभिसिल्ड’ खोपका लागि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।