सुन्धाराबाट चितुवाको टाउकोसहित तीन जना पक्राउ
काठमाडौंबाट प्रहरीले तीन जनालाई चितुवाको टाउकोसहित पक्राउ गरेको छ। प्रहरीले = काठमाडौं महानगरपालिका-२२ सुन्धारास्थित मल अगाडिबाट तीन जनालाई पक्राउ गरेको हो।
संरक्षित वन्यजन्तु चितुवाको दाह्रासहितको टाउकोको कारोबार हुन लागेको भन्ने खबर पाएपछि महानगरीय अपराध महाशाखाका विशेष टोली खटिएको थियो।
टोलीले लमजुङ दुधपोखरी गाउँपालिका-६का २३ वर्षीय सन्तोष आले मगर, काभ्रे रोशी गाउँपालिका-१२ का २० वर्षीय सुजन थिङ र १८ वर्षीय मिङमार मोक्तानलाई पक्राउ गरेको हो। महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीका अनुसार उनीहरूबाट प्रहरीले एउटा चितुवाको दाह्रासहितको टाउको बरामद गरेको हो।
उनीहरूले सो टाउको बेच्ने उद्देश्यले आफूले बोकेर हिँडेको अवस्थामा पक्राउ गरेको एसपी कार्कीले बताए। उनीहरूमाथि प्रहरीले अनुसन्धान गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत डिभिजन वन कार्यालय, हात्तीसार पठाएको छ।