अपहरण मुद्दाका फरार अभियुक्त लिम्बू पक्राउ
मोरङ उर्लाबारीलाई आधारक्षेत्र बनाएर आपराधिक गतिविधिमा संलग्न सुसन लिम्बू पक्राउ परेका छन्।
अपहरण, शरीर बन्धक तथा चोरी मुद्दाका फरार अभियुक्त लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले फरार रहेका उर्लाबारी नगरपालिका-५ का ३४ वर्षीय सुशन भनिने राजेश्वर लिम्बूलाई पक्राउ गरेको हो। अदालतले दोषी ठहर गरेको चार वर्षपछि लिम्बू पक्राउ परेका हुन्।
जिल्ला अदालत झापाले दोषी ठहर गर्दै २०७३ साल माघ ५ गते उनलाई ९ वर्ष १५ दिन कैद र ७८ हजार आठ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
विशाल ढुंगेलको जाहेरीका आधारमा लिम्बू अदालतबाट दोषी ठहर भएका प्रतिवादी हुन्। मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार लिम्बूलाई उर्लाबारी-४ आइतबारेबाट नियन्त्रणमा लिएर बुधबार झापा अदालतमा बुझाइएको छ।
अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिसकेको छ।