सस्तो मूल्यमा सोलार र चुलो बेच्न गाउँ पुगेको ‘ठगी गिरोह’
माघ १५ गते एक समूह जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ३ को कार्यालयमा पुग्यो।
वडा अध्यक्ष प्रचण्ड वलीसहितका पदाधिकारीलाई भेटेर दुर्गम क्षेत्रका अति विपन्न, गरिब, दलित, जनजाति समुदायका परिवारलाई सोलार र सुधारिएको फलामे चुलो वितरण गर्ने विषयमा छलफल गर्यो।
ग्रामीण विकास तथा क्लिन इन्भरमेन्ट नेपाल (आरडीसिएन) र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको अनुदान कार्यक्रम अन्तर्गत अति दुर्गम क्षेत्रका परिवारलाई ८० वाटको सोलार र तीनमुखे सुधारिएको चुलो वितरण गर्ने वडालाई जानकारी गरायो।
यसका लागि तीन हजार ७५० रुपैयाँ एउटा परिवारबाट उठाउनुपर्ने भन्दै वडा कार्यालयलाई रसिद समेत थमायो। ‘उनीहरूले हामीलाई १५ गते भेटेर रसिद दिए, १९ गते १० बजेभित्र उठाएको रकम बैंक खाताभित्र जम्मा गरिसक्नुपर्ने भनेका थिए,’ वडाअध्यक्ष वलीले भने, ‘हामीले त्यही रसिद दिएर रकम पनि संकलन गर्यौं, बैंकमा जम्मा गर्नुअघि नै त्यो समूह ठगी गर्न आएको रहेछ भन्ने थाह भइसक्यो।’
अध्यक्ष वलीका अनुसार वडाभित्रका १६८ घरधुरीबाट जम्मा ६ लाख ३० हजार रुपैयाँ समेत संकलन गरिसकिएको थियो। उनीहरूले ठगी गर्ने योजना बनाएको थाहा भएपछि रकम संकलन गर्न स्थगित गरिएको र संकलित रकम सम्बन्धित परिवारलाई फिर्ता गर्न थालिएको उनले बताए।