देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव- कतै हिमपात, कतै वर्षा
आज पूर्व र मध्य क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण कतै हिमपात भइरहेको र कतै वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभाव पश्चिमबाट पूर्वमा सरेकाले आज प्रदेश नम्बर १, २ र वाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यकामा दिउँसोपछि हल्का पानी पर्ने छ भने अरु पहाडी भेगमा सामान्य बद्ली मात्रै हुनेछ । हिजो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भेगमा हिमपातसँगै वर्षा भएको थियो ।
दिपायल, डडेल्धुरा, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, जुम्ला, घोराही, भैरहवा र काठमाण्डौमा पानी परेको मौसमविद् सापकोटाले जानकारी दिनुभयो । हिजो सबैभन्दा धेरै डडेल्धुरामा १२ दशमलव २ मिलीमिटर पानी परेको छ । यो वर्षको हिउँदमा पानी ढिला गरी परेको त्यसमा पनि सामान्य किसिमको मात्रै परेको मौसमविद्को भनाई छ ।
असोजदेखि हिउँदे वर्षा नभएकोमा शुक्रबार बिहानदेखि वर्षा भएको छ भने शनिबार बिहान देखि उच्च भेगमा हिमपात भइरहेको छ ।
असोज पानी नपरेका कारण खडेरी परेको क्षेत्रमा बर्षा र हिमपात हुँदा उपल्लो बस्तीका हिउँदे बाली र फलफूल खेतीमा सकारात्मक प्रभाव परेको छ । यद्यपि चिसोले जनजीवन भने प्रभावित भएको छ ।
भोलिदेखि मौसम सुधार हुने पनि मौसमविद् निराजन सापकोटाले बताउनुभयो । ढिलै भए पनि हिउँदे वर्षा र हिमपात भएपछि किसान खुसी भएका छन् ।