कालोबजारी गर्नेमाथि कारबाही
(काठमाडाैँ) बजारमा उपभोग्य सामग्रीको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी, मिसावट गर्ने/गराउनेलाई तत्काल प्रचलित कानुनबमोजिम कारबाही गर्ने भएको छ। सरकारले दैनिक उपभोग्य सामग्री पर्याप्त मौज्दात भएकाले आमउपभोक्तालाई आवश्यकभन्दा बढी सामग्री खरिद नगर्न र सञ्चय नगर्न अनुरोध गरेको छ। यसको अनुगमन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्ने/गराउने निर्णय भएको छ।
होटल, रेस्टुरेन्ट तथा सपिङ मलका सञ्चालकलाई हात सफा गर्नेलगायतमा सरसफाइको प्रबन्ध गरी टेबल, कुर्सी, बार रेलिङ, शौचालय आदि स्थानमा नियमित रुपमा डिसइन्फेक्सन गर्न सरकारले निर्देशन दिएको छ। तापक्रम मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी उक्त स्थानमा प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य जाँच गरिनेछ।
कोरोना भाइरसबारे नागरिकलाई भ्रम सिर्जना हुने गरी सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट गलत अभिव्यक्ति दिएमा विद्यमान कानुनबमोजिम कडा कारबाही गरिने निर्णय बैठकले गरेको छ।