पर्खालदेखि गेटसम्म फेरिने
(काठमाडौँ) सरकारले नेपालको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलाई नयाँ ढाँचामा व्यवस्थित बनाउने तयारी थालेको छ । सिंहदरबारको एउटै घेराभित्र कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका अटाउने व्यवस्थित सिंहदरबार बनाउने तयारी थालिएको सहरी विकास मन्त्रालयका सचिव मधुसुधन अधिकारीले रातोपाटीलाई जानकारी दिए । सिंहदरबारलाई नयाँ स्वरूप दिनका लागि गुरुयोजना तयार हुने क्रममा रहेको उनको भनाइ छ ।
सचिव अधिकारीले भने– ‘सिंहदरबारलाई नयाँ स्वरूप दिने, राज्यका ३ वटै अङ्ग एकै ठाउँमा हुने, व्यवस्थित सिंहदरबार बनाउने गुरुयोजना निर्माणको काम भइरहेको छ । मन्त्रिपरिषदबाट पास भएपछि काम अघि बढ्छ ।’
सिंहदरबार हाताभित्रै सर्वोच्च अदालतको अर्को भवन बनिरहेको छ । नयाँ संसद भवन निर्माण सम्पन्न भएपछि राज्यका ३ वटै अङ्ग सिंहदरबारभित्र रहनेछन् ।
पुतली बगैचामा सङ्घीय संसद भवन निर्माणको काम सुरु भइसकेको छ । आगामी ४२ महिनाभित्र सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभा, राष्ट्रिय सभा, संसद सचिवालयको कार्यालय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । अहिले संसद भवन निर्माणका लागि ठाउँ सफा गर्ने तथा जग राख्ने काम धमाधम भइरहेको छ ।
संसद भवन बनाउने ठाउँमा रहेको नेपाली सेनाको चण्डी दल गणलाई हालको रक्षा मन्त्रालयको भवनमा सार्ने तयारी भएको छ । एउटै भवनमा रहेको रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषदको कार्यालयलाई नयाँ भवनमा सारिँदैछ । यस्तै सोही स्थानमा रहेको सेनाको ब्यान्ड गुल्मलाई नारायणहिटी सङ्ग्राहालयमा सार्ने तयारी गरिएको छ ।
यस्तै हाल रेट्रोफिटिङको क्रममा रहेको मन्त्रिपरिषदको पुरानो भवनमा काम सकिएपछि मन्त्रालय सार्ने योेजना छ । हाल भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र वन तथा वातावरण मन्त्रालय एउटै भवनमा छ । प्रधानमन्त्रीको कार्यालयमा ठाउँ नपुगेर ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय भवनको भुइतलामा केही कार्यालय सारिएको छ ।
नयाँ संसद भवन बनिसकेपछि हाल संसद सचिवालय रहेको भवनलाई मन्त्रालयमा परिणत गर्ने योजना बनाइएको सचिव अधिकारीले जानकारी दिए ।
सिंहदरबारलाई नयाँ स्वरूप दिन गुरुयोजनाको प्राविधिक काम अन्तिम चरणमा पुगेको सचिव अधिकारीले जानकारी दिए । उनले भने– ‘सिंहदरबारको गेट, पर्खाल सबै नयाँ ढङ्गको हुनेछ । सिंहदरबार हेर्दै अर्को हुनेगरी योजना बनाइरहेका छौँ ।’