हतियारसहित नेपाली भूमिमा भारतीय प्रहरी पसे
बुधबार भारतीय प्रहरी हतियारसहित नेपाली भूमिमा प्रवेश गरी ३ जिल्ला पार गरेपछि कैलाली प्रहरीले पक्राउ गर्यो । कैलालीको चिसापानीमा भारतीय गाडीमा आएका भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लियो । त्यसको भिडियो, समाजिक सञ्जालमा समेत आयो ।
हतियारसहित नेपाल प्रवेश गरी बाँकेको नेपालगञ्जबाट सय किलोमिटर टाढा कैलालीको चिसापानी पुगेका भारतीय प्रहरी देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । भारतीय प्रहरीकै पोसाकमा हतियारसहित नेपाल आएको देखेपछि सर्वसाधारणले स्थानीय प्रहरीलाई खबर गरे र भारतीय प्रहरीलाई घेरा हाले । त्यसपछि कैलाली प्रहरीले उनीहरुलाई नियन्त्रणमा लियो ।
यसबारे के भएको थियो भनी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सुदीप गिरीलाई सम्पर्क गर्दा भारतीय प्रहरीलाई पक्राउ गरेको नभई सोधपुछ गरी फिर्ता पठाइएको बताए ।
कैलालीका एसपी सुदीप गिरीका अनुसार ती प्रहरीहरु उत्तर प्रदेशको बहराइच जिल्लाका प्रहरीहरु थिए । उनीहरु नेपालगञ्जको सिमानामा आएपछि केही समय नेपाल घुमौँ भनी नेपाली भूमि प्रवेश गरेका थिए । कैलालीको चिसापानीमा कर्णाली पुल हेर्न जाने भन्दै उनीहरु नेपालगञ्ज हुँदै कैलाली आइपुगेका थिए ।
कैलालीको चिसापानीमा रहेको कर्णाली पुल हेरेर उनीहरु सिद्धार्थ कटेजमा खाजा खान लागे । खाजा खाएर निस्कनै लाग्दा नेपाल प्रहरीले उनीहरुलाई नियन्त्रण लिए र सम्झाई बुझाई कैलाली प्रहरीले उनीहरुलाई बुधबार नै भारत पठायो । कैलाली प्रहरीका अनुसार उनीहरुलाई पक्राउ गरिएको नभई सम्झाएर फिर्ता पठाइएको थियो ।