एक जनाको रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा मृत्यु
(बुटवल) पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना १० फायरलाइनमा ट्रकमा मोटरसाइकल ठोक्किंदा बिहीबार साँझ एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लु ५७ प ६५८५ नम्बरको मोटरसाइकल चालक सैनामैना १ का ३४ वर्षिय केदारनाथ थारु रहेका छन् ।
सडकमा रोकिराखेको लु १ ख ६४५९ नम्बरको ट्रकमा पश्चिमबाट सैनामैनातर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किंदा थारुको मृत्यु भएको हो । थारुको घटनास्थलमै मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । दुर्घटनापछि ट्रकका चालक फरार छन् भने ट्रक र मोटरसाइकललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
एकहप्ता अघि पनि सैनामैनामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो ।