परिणाम नदिने हाकिमले पदमा नबसे हुन्छ : ऊर्जामन्त्री पुन
काठमाडौं : ऊर्जा,जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले कामको परिणाको खोजीमा रहेको बताएका छन्। परिणाम दिन नसक्ने कर्मचारीको विकल्प खोज्ने संकेत पनि मन्त्री पुनले दिएका छन्। ‘चिनेका साथी भाइ हुन्, काम गरिहाल्छन् नी भनेर मैले भन्ने अवस्था छैन्, मलाई परिणाम चाहिएको छ', उनले भने, 'परिणाम नदिने हो भने मैले विकल्प खोज्नुपर्ने हुन्छ।’
मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री पुनले पुनले अधिकृतभन्दा माथिका कर्मचारीलाई सचिव, मन्त्री वा विभागीय प्रमुखले मन पराए पनि नपराए पनि काम परिभाषित गरेर जिम्मेवारी दिन मातहतका उच्च अधिकारीलाई निर्देशन दिए। कागजमा निर्देशन दिने र प्रगति देखाउने प्रवृत्तिलाई निरुत्साहित गर्नेुपर्ने भन्दै मन्त्री पुनले राष्ट्रिय गौरवका आयोजनाको हकमा फिल्डमै गएर कामको प्रगति बुझ्न निर्देशन दिए। उनले परिणाममुखी काम गर्न सम्बन्धित कार्यालय प्रमुखहरुको ध्यानाकर्षणसमेत गराए।
सरकारले कार्यसम्पादन सम्झौताको सुरुवात गरेर नयाँ कार्यशैली अपनाएको मन्त्री पुनको दाबी छ। ‘अब प्रक्रिया मात्र भनेर हुँदैन, तपाईहरुले तालिका बनाएर नै काम गर्नुपर्यो। सरकारले अघि सारेको कामलाई सफल पार्नु सबैको दायित्व हो,’ मन्त्री पुनले भने, ‘काम नगर्ने हो भने पद ओगटेर मात्र बस्न कसैलाई पनि छुट छैन। आयोजना प्रमुख दुई वर्ष बस्नुपर्छ भन्ने हुंँदैन। सचिव र मन्त्री पनि पदमा टिक्नैपर्छ भन्ने छैन।
रासस