फिफा विश्वकप दोस्रो चरणको छनोट दशरथ रंगशालामा हुने
काठमाण्डौ २ श्रावण । फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोटअन्तर्गत नेपालले घरेलु मैदानमा खेल्ने खेलहरु दशरथ रंगशालामा हुने भएका छन् ।राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले नेपालले खेल्दै विश्वकप छनोटका खेलहरु रंगशालामा खेलाउने र त्यसका लागि यही साताबाट मैदानमा दुबो रोप्ने काम सुरु गर्ने बताए ।
चीन सरकारको सहयोगमा रंगशालाको सिन्थेटिक ट्रयाक राख्ने, फ्लड लाइटको काम हरु सकिएपछि भीआईपी प्याराफिट र साउण्ड सिस्टमको काम बाँकी रहेको छ । भीआईपी प्याराफिट बनेपछि साउण्ड सिस्टमको काम पनि समाप्त हुनेछ । यसका साथै मैदानको स्कोरबोर्ड पनि तयार भएको छ ।
रंगशालाको अन्य काम सकिए पनि चीन सरकारले हस्तान्तरण नगर्दा मैदानको पिच बनाउने काम भने सुरु हुन सकेको छैन । ट्रयाक बनाइसके पनि मैदानमा दुबो रोप्ने काम सुरु नहुँदा विश्वकप छनोटका खेलका लागि रंगशाला तयार हुन्छ की हुँदैन भन्ने प्रश्न उब्जिएको थियो ।