बझाङका डिएसपीले पत्रकारलाई भने, समाचार नहटाए डल्लो पारेर ल्याउँछु
बझाङ, १७:असार : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले पद बहाली गरेपछि समुदायसँग प्रहरीको घनिष्टता र मित्रता नभएसम्म प्रहरीको एकल प्रयासले मात्रै शान्ति सुरक्षा कायम गर्न नसक्ने निश्कर्ष निकाल्दै समुदाय प्रहरी साझदोरी कार्यक्रम ल्याएका हुन् ।
प्रहरीले विभिन्न समयमा ल्याउने नारा जति प्रभावकारी र मिठास छन् त्यसको दाँजोमा विभिन्न स्थानको कमाण्ड सम्हालेका अधिकृतले गर्ने बोली र व्यवहारले ती नारालाई किनारा लगाइदिने गरेका छन् । मुस्कान सहितको सेवा र प्रहरी मेरो साथी भन्ने नारालाई पनि केही अधिकृतले हावामा उडाइदिने गरेका छन् ।
हाम्रो दृष्टि डटकमा प्राप्त समाचार अनुसार मुस्कान सहितको सेवालाई वेवास्ता गर्दै सामुदाय प्रहरी साझेदारी कार्यक्रमलाई चुनौती दिँदै जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी सूर्यबहादुर केसीले कान्तिपथ डटकमका पत्रकार गणेश वि.क.लाई धम्की दिएका हुन् ।
समाचार चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सीलमा उजुरी दिने र कानुनी उपचार खोज्ने अधिकार हुँदाहुँदै डिएसपी केसीले दिएको धम्की अडियो सहित कान्तिपथ डटकमले समाचार प्रकाशन गरेको छ । डिएसपी केसीले समाचार तुरुन्त हटाउन आदेस दिँदै नहटाए जहाँकहीबाट डल्लो परेर ल्याउने धम्की दिएका छन् ।
डिएसपी केसीले यस विषयमा हेड क्वाटरसँग कुरा गरिसकेको बताएका छन् । डिएसपी केसीको अडियो सुन्दा उनी सेवक नभएर शासक हुन् भन्ने भान हुन्छ । समाचारमा कुनै त्रुटी भए बोलाएर राम्रैसँग सच्चाउन सक्ने कुरालाई उनले वेवास्ता गर्दै बर्दीको दुरुपयोग गरेको बुझिन्छ ।