बुटवलमा सडक खण्डको बीच भागमा राखिएका बुद्धका मूर्ति तोडफोड
काठमानण्डौ २ साउन । बुटवल(बेलहिया सडक खण्डको बीच भागमा राखिएका बुद्धमूर्तिहरु तोडफोड भएका छन् । सडक ६ लेन सडकअन्तर्गत शंकरनगर चोकदेखि नयाँमिल खण्डमा राखिएका पाँच वटा बुद्धमूर्तिहरु कामै नलाग्ने गरी तोडफोड भएका छन भने केही बुद्धमूर्ति सडकमै ल्याएर फ्याँकिएका छन ।
गए राति सडकको मध्यभागमा राखिएका बुद्धमूर्तिमध्ये शंकरनगर चोकदेखि नयाँ मिलसम्मका चार वटा मूर्ति बिहीबार बिहान तोडफोड भएको अवस्थामा भेटिएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जान्कारी दिए। उक्त मूर्तिहरु कसले किन फुटायो भन्ने अहिलेसम्म खुलेको छैन ।
‘विकास विरोधी वा अन्य कुत्सित उद्देश्यसहित योजनाबद्ध ढंगले गाडीसहित समूहमा आएर तोडफोड गरिएको देखिन्छ,’ नगर प्रमुख घिमिरेले बुद्धमूर्ति तोडफोडले नगरपालिकालाई स्तब्ध बनाएको बताएकाछन उनले भने , ‘शान्ति सुरक्षासँग पनि जोडिएको विषय भएकाले सुरक्षा निकायले गम्भीरतापूर्वक अनुसन्धान गरेर दोषीलाई कानूनी कारवाही हुन पर्छ ।’
प्रदेश सरकारले अहिले लुम्बिनी भ्रमण वर्ष मनाइरहेको सन्दर्भमा यो घटनाले नकारात्मक प्रभाव पार्न सक्ने लुम्बिनी विकास मञ्चका अध्यक्ष सन्दिप गुप्ताले बताएछन ।उत्त घटनास्थल पुगेर प्रहरीको टोलीले अध्ययन, अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
नगरपालिकाले सडकको सौन्दर्य बढाउन र बुद्ध जन्मस्थल लुम्बिनीको पहिचान दिन ६ लेन सडकको बीच डिभाइडरमा योगिकुटीदेखि मंगलापुरसम्म बुद्धका मूर्ति राखेको थियो । ६ लेन सडकको डिभाइडरमा तीनसय मिटर दुरीको फरकमा बुद्ध मूर्ति छन् ।
लुम्बिनी भ्रमण वर्षको अवसर पारेर गत वैशाख १ गते प्रदेश ५ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले बुद्धमूर्ति अनावरण गरेका थिए ।
बुद्ध मूर्ति स्थापनाका लागि नगरपालिकाले ५० लाख रुपैयाँ बजेट छुट्टाएको छ । जसमध्ये गत आर्थिक वर्षको अन्त्यसम्म २३ लाख रुपैयाँ खर्च भएको र बाँकी चालु आर्थिक वर्षमा खर्च गरिने नगरपालिकाले जनाएको छ ।
.jpg)