सेनाको एमआई १७ हेलिकोप्टर लिएर संखुवासभाको सिलिङचोङमा सुरक्षा टोली पुग्यो
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता र प्रहरीबीच संखुवासभामा दोहोरो फायरिङ भएपछि काठमाडौंबाट नेपाली सेनाको एमआई १७ हेलिकोप्टर घटना स्थल पुगेको छ ।
सशत्र प्रहरी निरीक्षक उमेश थापाको कमान्डमा १५ जना र नेपाल प्रहरी निरीक्षक शेखरजंग मल्लको कमान्डमा २५ जनाको टोली सेनाको हेलिकोप्टर लिएर दोहोरो फायरिङ भएको सिलिङचोङ गाउँपालिकाको वाङला भन्ने स्थान पुगेको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जानकारी दिए ।
संखुवासभाको चिलिचोङ गाउँपालिका–१ मा सोमबार बिहान विप्लवका कार्यकर्ता र गस्तीमा रहेको प्रहरी टोलीबीच जम्काभेट भएको थियो ।
त्यस क्रममा दुवै पक्षले गोली चलाएका हुन् । गाउँपालिका अध्यक्ष रामबहादुर राईले दुवै पक्ष आत्तिएकाले गोली चलाएको हुन सक्ने बताए ।
‘मैले १ नम्बरका वडाअध्यक्षलगायत स्थानीयसँग कुराकानी गरिसकें,’ अध्यक्ष राईले शिलापत्रसँग भने, ‘घटना बिहान साढे ८ बजेतिरको हो । सांकेतिकजस्तो मात्र भएको हो, गोली दुवै पक्षले चलाएको हो भन्ने कुरा छ तर टाढा–टाढाबाटै चलाएको हुन सक्छ । दुई पक्षले नै कुनै खालको क्षति बेहोर्नुपरेको स्थिति देखिएन ।’
प्रहरी महानिरीक्षक सचिवालयका एसपी रमेश थापाले दोहोरो फायरिङ भएको पुष्टि गरे । उनका अनुसार घटना स्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली परिचालन गरिएको छ । गोली हानाहान भएको क्षेत्रसँग जोडिएका सम्पूर्ण नाका सिल गरिएको छ । सुरुमा विप्लव समूहका कार्यकर्ताले गोली प्रहार गरेको र प्रहरीले जबाफी फायरिङ गरेको एसपी थापाले जानकारी दिए ।
विप्लव समूहको गतिविधिमाथि कडाइ गर्न प्रहरीले देशैभर उच्च सतर्कता अपनाएको उनले बताए ।