नाटकीयरुपमा पार्टी एकता भएको होइन : अध्यक्ष प्रचण्ड
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता ठूला ठूला परिघटना छिचोल्दै यहाँसम्म आइपुगेको बताएका छन्। नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औँ स्मृति दिवसका अवसरमा कीर्तिपुरको चम्पादेवीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। 'राजनीतिक प्रयोगका ठुला ठुला घटनाहरु छिचोल्दै हामी यहाँसम्म आएका हौँ। साधरण परिघटनाबाट यहाँसम्म आएका होइनौँ', दाहालले भने, 'पार्टी एकता हुनै सक्दैन भन्नेलाई हामीले देखायौँ। अब पार्टी एकता अगाडि बढाएर हामीले उनीहरुलाई देखाउनुछ। संविधान आउँदैन भन्थे बनायौँ। गणतन्त्र आउँदैन भनेको ल्यायौँ।'
अध्यक्ष दाहालले पार्टीभित्र देखिएका कमी कमजोरी सच्याउने संकल्प गर्नुपर्नेमा जोड दिए। 'नेताहरुबीच आलोचना, विरोध र निषेध भएका कुरा मात्रै बाहिर चर्चामा रहेका छन्', उनले भने, 'तर पार्टीलाई यो अवस्थासम्म ल्याउन भएका संवाद र छलफलका कुरा धेरैलाई थाहा छैनन्।' पुष्पलाल स्मृति दिवसको अवसरमा पुस्पलाल स्मृति प्रतिष्ठानले मंगलबार बिहान कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलालपार्कमा विशेष कार्यक्रम गरेको थियो। स्मृति सभाअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललगायतका शीर्ष नेताले पुष्पलालको शालिकमा माल्यार्पण गरेका थिए। कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन्।
नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको गोविन्द बल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले वि.सं. २००६ वैशाख १० गते नेकपा स्थापना गरेका थिए। वि.सं. १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाईं लडेका थिए।
रासस