नेपाली कांग्रेस-राजपाले आज पनि संसद चल्न नदिने
काठमाडौं : आफ्ना दुई मुख्य सरकारले माग पूरा नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले आज (सोमबार) पनि संघीय संसदको प्रतिनिधिसभा चल्न नदिने भएका छन्। दुई दलको नेताहरुको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको बैठकपछि माग पूरा नभएकाले संसद चल्न नदिने निचोड निकालेका हुन्।
दुई दलको बैठकपछि बाहिरिने क्रममा राजपाका नेता लक्ष्मणलाल कर्णले सर्लाहीमा भएका दुई हत्याकाण्ड छानबिनका लागि संसदीय गठन र लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेसम्म बैठक चल्न नदिने बताए। ‘हाम्रो माग यथावत छ। सरकारले सम्बोधन गरेमात्रै सभा खुल्छ नत्र खुल्दैन’, कर्णले भने, ‘सरकारले मधेस आन्दोलनबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न अटेर गरिरहेको छ। छानबिन समिति पनि बनाएको छैन।’ त्यसैगरी कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले अहिले देशमा बाढी, पहिरो र डुबान नरहेको जनाउँदै बैठक चल्न नदिने प्रष्ट पारे। ‘अहिले देशमा बाढी पहिरो गएको छ र? डुबान भा’को छ र?’, उनले भने, ‘हाम्रो माग नसुनेसम्म संसद चल्ने छैन।’
बैठकमा राजकिशोर यादव, लक्ष्मणलाल कर्ण र अनिल झा सहभागी थिए। त्यसैगरी कांग्रेसबाट बालकृष्ण खाँण, मिनेन्द्र रिजाल र पुष्पा भुसालसहितका नेता सहभागी थिए।
रासस