प्रचण्डले भने हेग लगे विश्वकै हिरो भएर निस्कन्छु
काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र ल्याउने पार्टी र नेताहरुविरुद्ध षडयन्त्र भइरहेको बताएका छन् । गणतन्त्र, संघीयता जस्ता उपलब्धी गुमेमा नेपाल बर्बाद हुने भन्दै उपलब्धीको रक्षाका लागि एकतावद्ध हुन नेता कार्यकर्तालाई अपील गरे । नेकपा विप्लव समूह छाडेर आएका नेता कार्यकर्तालाई सोमबार पार्टी प्रवेश गराउँदै प्रचण्डले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने पार्टी, त्यसका नेताहरुलाई सिद्ध्याउन पाइयो भने यसलाई उल्ट्याउन सकिन्थ्यो भनेर आजभोलि हाम्राविरुद्ध षडयन्त्र र प्रचारहरु बढी नै भएका छन् ।’ कतिपयले ‘प्रचण्डलाई हेगमा लैजाने रे’, ‘एक दिन भए पनि जेलमा हाल्ने रे’ भनेर प्रचार गरिएको भन्दै उनले त्यसलाई परिवर्तन नचाहनेहरुको डिजाइनको संज्ञा दिए । ‘हेग लगे भने त म झन् विश्वकै हिरो भएर निक्लिन्छु,’ प्रचण्डले भने, ‘तर यिनीहरुले मलाई हेग लैजान्छन् र विश्वको हिरो बनाउँछन् भन्ने लाग्दैन । त्यो हुन दिन चाहँदैनन् ।’
हेग पुर्याए संसारका जनताले आफूलाई यो त न्यायको पक्षमा रहेछ, शान्तिको पक्षमा रहेछ भनेर बुझ्ने भन्दै प्रचण्डले त्यो आफ्ना लागि गर्वको कुरा हुने बताए । प्रचण्डले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र रहेसम्म आफूहरु कोही पनि कमजोर नहुने बताए । ‘यो रहँदासम्म हामीलाई जहाँ लगेपनि हामी हिरो । यो नै उल्टियो भने नेपालले दुःख पाउने नेपाल नै बर्बाद हुने खतरा छ’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भनेका छन् ।
‘विप्लव नेकपामा आउनुपर्छ या सिद्धिनुपर्छ’
उनले विप्लव समूहले सिद्धिने या नेकपामा समाहित हुने एक विकल्प रोज्नुपर्ने पनि बताएका छन् । विप्लव समूहका रमण घिमिरेसहितका कार्यकर्ताहरुलाई सोमबार पार्टी प्रवेश गराउँदै प्रचण्डले भने, ‘ढिलो छिटो विप्लव पनि यहीँ आउनुपर्छ, कुनै उपाय छैन । या त सिद्धिनपर्छ ।’ नेत्रविक्रम चन्द (विप्लव) समूहले थालेको संघर्ष सफल नहुने उनले दाबी गरे । पेरुको, फिलिपिन्सको, श्रीलंकाको लिट्टे जस्तै समाप्त हुने खतरा रहेकाले आफूहरु शान्ति प्रक्रियामा आएको उनले बताए ।
माओवादी पार्टी विभाजन हुनुको जिम्मेवारी आफूले लिने पनि उनले बताए । प्रचण्डले भने, ‘यसको जिम्मेवारी मैले नै लिनुपर्छ, म मुख्य लिडर हुनुको नाताले त्यो बेलामा साथीहरुलाई बुझाउन सकिनँ ।’ तर, नेता मातृका यादव, महेन्द्र राय यादव लगायतको उदाहरण दिँदै र नवप्रवेशीलाई सम्बोधन गर्दै प्रचण्डले विगतमा पार्टी परित्याग गरेकाहरु पनि अहिले फर्किन थालेको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘तपाईंहरु ठीक समयमा, ठीक निर्णय गरेर ठीक ठाउँमा नै आउनु भएको छ । मैले भन्ने गरेको छु, ढिलो छिटो विप्लव पनि यहीँ आउनुपर्छ ।’
रासस