विद्यार्थी मृत्यु प्रकरण : आफन्त द्धारा शव बुझेर महाकाली नदीमा अन्त्येष्टी
काठमाण्डौ ३ श्रावण । कञ्चनपुरको एक निजी बोडिङ्ग स्कुलका शिक्षकको सामुहिक कुटाईबाट मरेका विद्यार्थीको शव आफन्तले बुझेर अन्त्येष्टी गरेका छन् । भीमदत्त नगरपालिका–१७ बाँसखेडा स्थित महाकाली बाल विद्यालयका शिक्षकको सामुहिक कुटाईपछि मरेका बालक(विद्यार्थी)को शव शुक्रबार आफन्तले बुझेर महाकाली नदीमा अन्त्येष्टी गरेका हुन् ।स्थानीय प्रहरीले घटनाको निष्पक्ष छानबिन गर्ने र दोषि उपर कार्बाहीको गर्ने प्रतिबद्धता जाहेर गरेपछि आफन्तले ११ औँ दिनमा शव बुझेका थिए । शिक्षकको कुटाईबाट घाईते भएका महाकाली बाल विद्यालय कक्षा ९ मा अध्ययनरत छात्र माधव कलौनीको गत २४ असारमा भारतीय अस्पतालमा मृत्यु भएको थियो ।कुटेको १२ औँ दिनमा उनको उपचारकै क्रममा भारतीय त्रिमुर्ति अस्पतालमा मृत्यु भएको थियो । माधवको भारतीय सरकारी अस्पतालमा पोष्टमाष्टम गरेपछि आफन्तले महाकाली अञ्चल अस्पतालमा पुनः परीक्षणका लागि शव राखेका थिए ।
बिहीबार माधवको पुनः पोष्टमाष्टम गरिएको छ । शिक्षण अस्पताल महाराजगन्ज काठमाण्डौँमा कार्यरत विशेषज्ञ डा. मणी महर्जनले पोष्टमाष्टम गरेका थिए । ‘नेपालमा पुनः पोष्टमाष्टम गरियो, प्रहरीले पनि घटनाको निष्पक्ष छानबिन गर्ने बचन दिएको छ, ‘मृतक माधवका मामा पुष्पमणी जोशीले भने, ‘अब शुक्रबार शव बुझेर लग्दैछौँ, धार्मिक परम्परा अनुसार महाकालीमा अन्त्येष्टी गरेका छौँ ।’१० असारमा गाउँमै विद्यार्थीविच भएको झैझगडाको विषयलाई लिएर १३ असारमा विद्यालयमा प्रिन्सिपल सहितका शिक्षकले कुटपिट गरेको भन्दै पीडित परिवारले जनाएका थिए । विद्यालयबाट समेत निस्कासित गरिएका माधवको खुट्टामा समस्या देखिएपछि बाबु बृह्स्पति कलौनीले डडेल्धुराको अस्पतालमा उपचार गराएका थिए ।त्यहाँ उपचार नभएपछि उनले माधवलाई थप उपचारका लागि महाकाली हुँदै, नेपालगन्जको शिक्षण अस्पतालमा लगेका थिए। उनको शिक्षण अस्पतालमा समेत उपचार नभएपछि भारतीय त्रिमुर्ति अस्पताल लगिएको थियो । शिक्षककै सामुहिक कुटाईबाट माधवको मृत्यु भएको भन्दै परिवारले शव बुझन मानेका थिएनन् ।
भारतीय अस्पतालमा गरेको पोष्टमाष्टम रिर्पोटमा समेत घाउकै कारण मृत्यु भएको उल्लेख गरिएको परिवारजनले बताएका छन् । ‘नेपालका डाक्टरले पनि पोष्टमाष्टम गर्दा घाउकै कारण मृत्यु भएको बताएका छन्, ‘बालकका मामा पुष्पमणीले भने, ‘अब नेपाल तर्फको पोष्टमाष्ट रिर्पोटलाई पनि हेरेर भावि कार्यक्रम तय गछौँ ।’शिवनाथ गाउँपालिका–२सर्मली बैडतीका माधव भीमदत्त नगरपालिका–५ बनगाउँ मामा पुष्पमणी जोशीको घरमा बसेर पढ्नै आएका थिए । यसैविचमा माधवका बाबुलाई २९असारमा विषालु सर्पले डस्दा बिरामी परेका थिए । उनको उपचार पछि घर फर्किएका छन् ।
मृतकका मामा पुष्पमणी जोशीले प्रहरीलाई दिएको किटानीका आधारमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रिन्सिपल सहित पाँच जनामाथी अनुसन्धान भईरहेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरन्जन प्रशाद बोहरा, प्रिन्सिपल यशोदा जोशी, शिक्षकत्रय लक्ष्मण प्रशाद भट्ट, दुर्गादत्त पाठक र हर्क बहादुर जाग्री बिरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को अनुसुची–१ बमोजिम ज्यान सम्बन्धी कसुर मुद्दा दायर गरेका थिए ।
कञ्चनपुरका प्रहरी प्रमुख दिनेश आचार्यले पहिलो पटक सात दिनको म्याद थप गरेर उनीहरुमाथी अनुसन्धान भईरहेको बताए । तर, पिन्सिपल जोशी सहितका शिक्षकले कुटपिट नगरेको दावि गरेका थिए । विद्यालयमा खुकुरी ल्याएपछि अनुशासन व्यवस्थापनका लागि उनी सहित आयुस विकेलाई बोलाएर दुई दुई झापड मात्रै हानेको बताएका थिए ।माधवको मृत्युसंगै उनको परिवार शोकमा डुबेको छ । आफन्त साथीभाई पनि चिन्तित भएका छन् । विद्यालय ५ साउनदेखि संचालन हुने जनाईएको छ । तर, अध्यक्ष, प्रिन्सिपल सहितका तीन शिक्षकमाथी मुद्दा चलेपछि विद्यालय संचालनमा समेत अन्यौलता देखिएको छ ।
विद्यालयका केही संचालक एव शिक्षकले विद्यालय संचालनकाको वातावरण सिर्जनाका लागि माग गर्दै आएका छन् । चार सय विद्यार्थीको भविष्यको विषय भएकाले बषौँ विदाकै समयमा घटना भएपछि विद्यालयमा पनि विदा गरिएको थियो ।बोडिङ्ग निजी विद्यालय सस्तो लोकप्रियताका लागि विद्यार्थीलाई अनावश्यक बोझ र दवाव दिने प्रवृतिले विद्यार्थी मारमा पर्दै आएका छन् ।